दफा १६
सवारी दर्ताको प्रमाणपत्र
(१) दफा १५ बमोजिम कुनै सवारी दर्ता गराउनको लागि दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको नाममा त्यस्तो सवारी दर्ता गरी अनुसूची–३ बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्छ ।
तर सामाजिक, धार्मिक, परोपकारी तथा शैक्षिक उद्देश्यले स्थापना भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरू एवं प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाहरूको नाउँमा बाहेक चौध भन्दा बढी सीट संख्या तथा चार टन वा सो भन्दा बढी कूल वजन भएका सवारीहरूलाई निजीसवारीको रूपमा दर्ता गरिने छैन ।
(२) नाबालकको नाममा सवारी दर्ता गर्दा संरक्षक समेतको नाम दर्ताको प्रमाणपत्रमा उल्लेख गरी दर्ताको प्रमाणपत्रमा निजको समेत सही गराउनु पर्छ ।
(३) दर्ताको प्रमाणपत्रमा सवारी खरीद गर्दा सवारीको निर्माताले दिएको सवारीको प्राविधिक विवरणमा लेखिएको सवारीको कूल भारवहन क्षमतालाई सो सवारीको वजन मानी उल्लेख गर्नु पर्छ र त्यसरी सवारीको वजन उल्लेख गर्दा त्यस्तो सवारीको भार रहित वजन र भारवहन क्षमता समेत छुट्टाछुट्टै रूपमा स्पष्ट हुने गरी उल्लेख गर्नु पर्छ ।
(४) दर्ताको प्रमाणपत्र दिइएको मितिले एक वर्षसम्म बहाल रहनेछ ।